सनातन हिन्दु धर्ममा भगवान शिवको छुट्टै महिमा छ । भगवान ब्रह्मालाई सृष्टिकर्ता विष्णुलाई पालनकर्ताका रूपमा लिइन्छ भने भगवान शिवलाई संहारकर्ताका रुपमा लिने गरिन्छ । मानवीय अहंकार होस् वा मानवलाई दुःख दिने दुष्ट होस् सबैको संहार गर्ने एकमात्र व्यक्तित्वको रुपमा भगवान शिवलाई हामीले लिने गर्छौं । शिवको अर्थ कल्याण हो । विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ । शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ । वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ । शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा रुद्रको विभिन्न वर्णन गरिएको छ । सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ । शिवलाई सम्पूर्ण देवताका पनि देवता अर्थात देवाधिदेव महादेव भनिएको छ । शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ ।
श्रावण महिनालाई विशेष त भगवान शिवको महिनाका रुपमालिने गरिन्छ पुराणमा भनिएको पनि छ
द्वादशस्वपि मासेषु श्रावणो मेऽतिवल्लभः ।
श्रवणार्हं यन्माहात्म्यं तेनासौ श्रवणो मतः ।।
श्रवणर्क्षं पौर्णमास्यां ततोऽपि श्रावणः स्मृतः।
यस्य श्रवणमात्रेण सिद्धिदः श्रावणोऽप्यतः ।।
अर्थात् म श्रावणलाई असाध्यै माया गर्छु । यसको महानता सुन्न लायक (श्रवण गर्न लायक )छ , त्यसैले यसलाई श्रावण भनिन्छ । त्यसैगरी यस महिनामा श्रवण नक्षत्रसँगै पूर्णिमा हुने भएकाले यसलाई श्रावण भनिएको हो । यसको महानता श्रवण गरेर मात्रै सफलता मिल्छ, त्यसैले यसलाई श्रावण भनिन्छ ।
त्यसैगरी वारहरुमा सोमवार अत्यन्तै पावन वारका रूपमा रहेको छ । यसरी हेर्दा सनातन धर्ममा भगवान शिवको आराधनाका लागि श्रावण महिना विशेष मानिन्छ । साउन महिनामा भगवान शिवको पूजा आराधना गर्नाले जीवनमा सुख र समृद्धि मात्र नभई मृत्युयोग जस्ता विपत्तिबाट पनि बच्ने धार्मिक विश्वास रहेको छ । यस दिन जप, तपस्या र तपस्या गर्नाले धेरै शुभ हुने जनविश्वास छ । सोमबार चन्द्र ग्रहको दिन हो र चन्द्रमाको नियन्त्रक भगवान शिव हुनुहुन्छ । यस दिन पूजा गर्नाले चन्द्रमाको मात्र नभई भगवान शिवको आशीर्वाद पनि प्राप्त हुन्छ ।
स्वास्थ्य समस्या, वैवाहिक समस्या, आर्थिक समस्या भएका व्यक्तिले साउनको प्रत्येक सोमबार विधिपूर्वक भगवान शिवको पूजा गरेमा सबै समस्याबाट मुक्ति मिल्छ । सोमबार र भगवान शिवको सम्बन्धका कारण माता पार्वतीले सोह्र सोमबार व्रत बसेकी थिइन् । साउनको सोमबारलाई विवाह र सन्तानको समस्याका लागि शुभ मानिन्छ ।
सौर्य मास अनुसार श्रावण १ गते संक्रान्तिबाट साउन महिना सुरु भएतापनि विशेष व्रतका लागि चन्द्रमास नै ग्राह्य हुन्छ । त्यसैले यस वर्षको श्रावण चान्द्रमास श्रावण ७ गतेबाट सुरु भएको छ भने भाद्र ३ गते सोमबार जनै पूर्णिमासम्म यो रहनेछ ।
साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् ।
साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी चन्द्रमा अनी चन्द्रमा को नियन्त्रण भगवान् शिव बाट हुने भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ ।
हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । पुराणहरूमा मुख्य तीनथरि सोमवार व्रतको चर्चा पाइन्छ । ती हुन्– साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।
नेपाली समाजमा साउन महिनामा रुद्री लगाउने चलन छ । रुद्री भनेको शतरुद्रीय वैदिक मन्त्र पाठ गरी शिवलिङ्गमा अभिषेक गर्नु हो । विशेषगरी साउनको सोमवार पारेर तथा त्यस दिन नजुरे साउनकै अन्य कुनै दिन ब्राहृमणहरूद्वारा रुद्राभिषेक गराइन्छ । रुद्रीमा वैदिक मन्त्रोच्चारण सहित जलधाराले शिवको अभिषेक गरिन्छ । धर्म, अर्थ काम र मोक्ष यी चार कुराको इच्छा गर्नेहरुले रुद्री पाठद्वारा आशुतोष भगवान् रुऽलाई प्रसन्न पार्छन् । रुद्री प्रसन्न हुनाले सम्पूर्ण इच्छा पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ । भिन्नभिन्न वस्तुले अभिषेक गरी रुद्रीपाठ गर्नाले भिन्नभिन्न कामना पूर्ण हुन्छन् भन्ने विश्वास छ ।
साउने सोमवारका दिन देशभरिका शिवालायहरूमा भक्तजनको भीड लाग्छ । काठमाडौं वरपरका क्षेत्रका श्रद्धालु साउन महिनाको सोमवारको प्रमुख गन्तव्य बन्ने गरेको छ– पशुतिनाथ क्षेत्र पौराणिक ग्रन्थहरूमा पशुपतिनाथको ठूलो महिमा बताइएको छ । यसैगरी ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, काठमाडौंको कोटेश्वर, महोत्तरी जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर काभ्रेको धनेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेस्वर लगायतका शिवालयहरूमा साउने सोमबारका दिन विशेष घुइँचो हुन्छ । केही वर्षयता बोलबम यात्रा पनि चल्ने गरेको छ ।
त्यसैगरी त्रिवेणी वाट जल ल्याइ रुपन्देहीको परोहा परमेश्वर तथा प्रकटेश्वर महादेवमा समेत जल अपर्ण गर्ने परम्परा छ ।