मर्चवार । साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सम्पन्न भएको छ । सोमबार संस्थाको प्रांगणमा मर्चवारी ३ सेमरामा एक कार्यक्रमका बिच उक्त सभा सम्पन्न भएको हो ।
सभामा संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष बेलावती देवी मल्लाहले साना किसान सेमरा शाखाले ३ वर्षमा ९४५ शेयर सदस्य जोडन सफल भएको बताइन् । संस्थामा ११ लाख ६४ हजार ५ सय शेयर पुँजी बनाउन सफल भएको उनले बताइन् । आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाले विभिन्न सेवाबाट ४६ लाख ४५ हजार ३ सय ३२ रुपैया आमदानी गरेको बताइन् । यसैगरी संस्थाको कर्मचारी तलब, ब्याज प्रदान, कार्यालय संचालन लगायत विभिन्न शिर्षकमा ७५ लाख ८५ हजार ७४८ रुपैया खर्च गरेको उनले बताइन् । संस्थाले मासुजन्य पदार्थ, कृषि लगायतका विभिन्न प्रयोजनमा ऋण प्रदान गर्दै आएको बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व कृषि मन्त्री ओम प्रकाश यादव (गुल्जारी) ले प्रत्येक घरबाट सहकारी सदस्य हुनपर्ने बताए । किसानलाई आवश्यक मल, बीउ देखि सानातिना र आकश्मिक रुपले कर्जा प्रदान गर्ने सहकारी मात्र रहेको बताउदै यस प्रति सबैको अपनत्वको भावना हुनुपर्ने बताए । साना किसान कृषि सहकारी संस्था किसानलाई ब्यवसायिक खेती गर्न लगायत आर्थिक उन्नती गर्ने उद्देश्यले स्थापना भएको बताए । विदेशमा किसानहरुको उन्नतीको प्रमुख कारण सहकारीमा आवद्धता रहेको बताउदै मर्चवार पनि पुर्ण रुपले कृषि क्षेत्रमा हरेक कृषक साना किसानमा शेयर सदस्य भई बचत गर्ने बानी सिजर्ना गर्न उनले आग्रह गरे ।
यसैगरी मर्चवारी गाउँपालिका वडा नंं. १ का वडाध्यक्ष कृष्ण कुमार सिंहले सहकारीका शेयर सदस्य नै सहकारीलाई संचालन गर्ने अधिकार रहेको बताए । सहकारीले मात्र शेयर सदस्यहरुलाई वार्षिक रुपले आय व्यय तथा प्रगति विवरण सबैमा जानकारी गराउने संस्था रहेको उनले बताए । मर्चवार क्षेत्रमा किसानको जनसंख्याको हिसाबले अझै धेरै सहकारीमा जुटनुपर्ने उनले बताए ।
कार्यक्रममा संस्थाका ब्यवस्थापक जय प्रकाश यादवले संस्थाको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।