इम्बोस्ड नम्बर प्लेटको बिरोध गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र

मर्चवार न्यूज 367+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

भैरहवा । नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्यसमिति रुपन्देहीले सरकारले ल्याएको इम्बोस्ड नम्बर प्लेट योजना राष्ट्रघाती भएको भन्दै त्यसको कडा विरोध गरेको छ । सोमबार जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सम्बन्धित मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमार्फत सरकारले निर्णय तत्काल खारेज गर्नुपर्ने माग राखेको हो ।

संघले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको निर्णयले मौलिक देवनागरी लिपी मास्ने, आम जनतालाई आर्थिक भार थोपर्ने, रोजगारी खोस्ने र राष्ट्रिय पहिचानमाथि आघात गर्ने प्रष्ट आरोप लगाएको छ । करिब ६० लाख सवारीसाधनमा प्रयोग हुँदै आएको देवनागरी लिपी हटाउने निर्णयलाई संघले प्रत्यक्ष राष्ट्रघाती षड्यन्त्रको संज्ञा दिएको छ ।


ज्ञापनपत्रमा करिब १ लाखभन्दा बढी श्रमिक र कलाकारहरू वैकल्पिक रोजगारीको व्यवस्था नगरी प्रविधिको नाममा ल्याइएका यस्ता निर्णयका कारण बेरोजगार हुने खतरा रहेको उल्लेख छ । साथै बिचौलिया र दलालको प्रभावमा परी आम नागरिकलाई महँगो र झण्झटिलो प्रक्रियामार्फत आर्थिक भार थोपर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने चेतावनी दिइएको छ ।

जिल्ला कार्यसमिति रुपन्देहीले सरकारलाई स्पष्ट चेतावनी दिदै भनेको छ, ‘राष्ट्रघाती इम्बोस्ड नम्बर प्लेट तुरुन्त खारेज गरियोस्, मौलिक देवनागरी लिपि मेट्न पाइँदैन ।’ अध्यक्ष दिनेशमणि कोहारले भन्नुभयो–‘हाम्रो पहिलो प्राथमिकता नेपाली पहिचान र स्वदेशी श्रमिकको रोजगारीको रक्षा गर्नु हो । प्रविधिको नाममा आम जनतालाई ठग्ने कुनै पनि कदम सह्य हुँदैन । यदि सरकारले निर्णय फिर्ता नगरे हामी सडकमा उत्रेर कडा आन्दोलन गर्नेछौं ।’

यसैबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आर्टिष्ट संघको मागलाई सम्बन्धित निकायमा पठाइने बताउनुभयो ।कार्यक्रममा संघका अध्यक्ष दिनेशमणि कोहार, केन्द्रीय सदस्य रवि घिमिरे, संस्थापक अध्यक्ष उज्ज्वल कुमार दे कायस्थ, उपाध्यक्ष मनोहर थापा, कोषाध्यक्ष गणेश घिमिरे, सल्लाहकारहरू दिपेन्द्र प्रधान र रामदास हरिजनको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार