वृद्धाश्रममा खाना खुवाउने तथा पंखा हस्तान्तरण कार्यक्रम

मर्चवार न्यूज 367+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

मर्चवार । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले वृद्धाश्रममा खाना खुवाउने तथा पंखा हस्तान्तरण कार्यक्रम गरेको हो ।

१८ औं गणतन्त्र दिवसको अवसरमा बिहीबार ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा कार्यक्रम गरिएको काँग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले बताउनुभयो । राजनीतिक पार्टी राजनीतिसँगै सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन कार्यक्रम गरिएको उहाँले बताउनुभयो । उहाँले राजसंस्था मुलुक र जनताको हितमा नभएकाले नै गणतन्त्र स्थापना भएको बताए । ‘अहिलेको व्यवस्थालाई अझ बलियो बनाउनुपर्छ, ’उहाँले भन्नुभयो–‘नेतृत्वमा केही कमीकमजोरी भए त्यसलाई व्यवस्थासँग जोड्नुहुँदैन ।’ गणतन्त्र र लोकतन्त्रको विकल्प गणतन्त्र र लोकतन्त्र नै भएको उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि काँग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताउनुभयो । उहाँले यो व्यवस्थालाई टिकाइराख्नुपर्नेमा जोड दिए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई अझ मजबुत बनाउनुपर्छ, ’ उहाँले भन्नुभयो ।

पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहनुभएका नेता रज्जाकले काँग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो ।

काँग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले वृद्धाश्रमलाई सम्मानजनक ठाउँ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काम नै पूजा भएको बताउनुभयो । उहाँले गणतन्त्र स्थापनाका लागि ठूलो संघर्ष भएको पछाडी फर्किन नसकिने र यो व्यवस्थालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यालयमा पुगेका सेवाग्राहीले कुनै भनसुनका आधारमा नभइ सहज रुपमा सेवा पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा श्री सत्य साई वृद्ध सेवा आश्रमकी अध्यक्ष माया खरेल, काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, पार्टीको क्षेत्र नम्बर ३ (क) का कार्यबाहक सभापति गोविन्द प्रसाद बस्याल, जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, क्षेत्रीय सह–सचिव कूल प्रसाद न्यौपाने,सिद्धार्थनगर उपसभापति देवराज न्यौपाने, सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सिद्धार्थनगर–७ का बुथ सभापति भविलाल पौडेल लगायतले बोल्नुभएको थयो ।

कार्यक्रममा वृद्धाश्रमलाई ४ थान सिलिङ पंखा र नगद रु. १५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरिएको काँग्रेस रुपन्देही–३ का सचिव तथा प्रवक्ता लेखनाथ भट्टराईले बताउनुभयो । कार्यक्रममा पार्टीको सिद्धार्थनगर उपसभापति देवराज न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर वृद्धाश्रमलाई रु. ११ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै