मर्चवार २४ साउन/रुपन्देहीको कोटहीमाई गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको छ । बिहीवार गाउँपालिकाको सभा हलमा १५ औँ गाउँसभाको आयोजना गरी विशेष गाउँसभा सम्पन्न भएको हो । १४ गाउँसभामा भूमिकर सम्बन्धी भएको त्रुटीलाई सच्याउन गाउँ सभा सदस्यहरूको माग बमोजिम विशेष गाउँसभा गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिएका छन् । प्राविधिक त्रुटीबाट भूमि कर जग्गाको मूल्याङ्कनको आधार भई भूमि कर अधिक भएपछि राजस्व परामर्श समितिका संयोजक गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले पेश गरेको प्रस्ताव अनुसार गाउँसभामा सहभागी सदस्यहरूले भूमि कर प्रति कठ्ठा रु. ७ कायम गर्न निर्णय गरेका गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । अध्यक्ष त्रिपाठीले भने ‘गाउँपालिका जनता कै लागि काम गर्ने हो, गाउँपालिकावासीहरुबाट चर्काे कर उठाउन हाम्रो कुनै चहना होइन, अहिले भएको समस्या प्राविधिक त्रुटीले मात्र भएको हो । जानकारी पछि तत्काल सच्याउन सहमति भएका छौँ । यसलाई सहज रुपले व्यवस्थापन गरी आम नागरिकलाई असर नहुनेगरी काम गर्नेछौँ ।’ यसैगरी उक्त गाउँसभामा पेश गरिएको गाउँपालिका अनुदान शिक्षक कर्मचारी व्यवस्थापन कार्यविधि २०८१ र नाग पञ्चमी, रामनवमी, मोर्हरम लगायत विभिन्न स्थानीय पर्वमा विदा गर्ने समेत गाउँसभाले निर्णय गरेको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता तथा कोटहीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष संजय कुमार सैनीले बजारमा असमानता मूल्यलाई पनि नियन्त्रण गर्न गाउँपालिकाले कार्यविधि निर्माण गरी बजार अनुगमन गर्नुपर्ने बताए । एकै प्रकृतिका बस्तुको सामान हरेक पसलमा फरक –फरक मूल्यमा बिक्रि वितरण हुँदा उपभोक्तामा मार्का परेको वडाध्यक्ष सैनीले बताए । प्राविधिक त्रुटीले भूमि कर सोचे भन्दा बढी राजस्व कार्यन्वयन भई आएको त्यसलाई सच्याउन भएको सहमतिप्रति उनी धन्यवाद व्यक्त गरेका थिए । गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, गाउँपालिकाका विभिन्न वडाध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँ सभा सदस्यहरूको उपस्थितमा सम्पन्न उक्त विशेष सभालाई अजय सिंह क्षेत्रीले सञ्चालन गरेका थिए ।
कोटहीमाई गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न
२४ श्रावण २०८१, बिहीबार