मर्चवार १८ साउन÷ रुपन्देहीको मर्चवार क्षेत्रमा लो भोल्टेज तथा विद्युत कटौतीबारे नेपाल विद्युत प्राधीकरण भैरहवा तथा मर्चवारका कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिका अध्यक्षहरु बिच छलफल भएको छ ।
शुक्रबार कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी, मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरई, सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवस्तव र नेपाल विद्युत प्राधिकरण भैरहवा ईकाइका प्रमुख संजय मिश्र बिच विद्युत सुधारबारे छलफल भएको हो । मर्चवार क्षेत्रका तीनै पालिका अध्यक्षले अत्यधिक गर्मीको समयमा पनि लो भोल्टेज र अनियमित विद्युत कटौती हटाउन माग गरेको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिएका छन् । यसैगरी लो भोल्टेज कम गर्न आवश्यक विभिन्न ठाउँमा ट्रान्सफार्मर जडानको लागि समेत माग गरिएको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् ।
अत्यधिक गर्मीको समयमा पनि अनियमित विद्युत कटौतीले मर्चवार क्षेत्रको जनजिवन प्रभावित भएको भन्दै अनियमित विद्युत कटौती हटाउन समेत छलफल भएको सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले बताए । अहिले तत्कालको लागि स्थानीय तहसंग समन्वय गरी आवश्यक सुधार गर्ने र आउने दिनमा सम्मरीमाई ६ महदेइयामा विद्युत स्टेशन निर्माण पछि मर्चवार क्षेत्र पुर्ण रुपले विद्युत सुधार हुने उनले बताए ।
छलफल पछि आजैबाट लो भोल्टेज विद्युत सुधार हुने नेपाल विद्युत प्राधिकरण भैरहवा इकाइका प्रमुख संजय मिश्रले बताए । मर्चवारमा विद्युत समस्या सधैको लागि अन्त्य गर्न विभिन्न कार्यहरु भइरहेको उनले बताए । आज भएको छलफल पछि विभिन्न माध्यमले मर्चवार क्षेत्रमा लो भोल्टेजको समस्या न्युन गरिएको मिश्रले जानकारी दिएका छन् ।