लुम्बिनी । चैत १५ गते काठमाडौंको तीनकुने आगजनी घटनामा ज्यान गुमाउनु भएका एभी न्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको सम्झनामा लुम्बिनीमा १ सय ८ दीप प्रज्वलनगर्दै श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
मधेशी पत्रकार समाज र मर्चवार प्रेस क्लब रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामनागर्दै पत्रकार रजकको निष्ठा, समर्पण र बलिदानलाई सम्मान व्यक्त गरिएको हो ।
मधेशी पत्रकार समाज नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष राम बिकास चौधरीले पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पणगर्दै पत्रकारिता क्षेत्र असुरक्षित बन्दै गएको जिकिर गर्नुभयो । “एक सत्यनिष्ठ, मेहनती र निर्भीक पत्रकारलाई आन्दोलनको क्रममा यसरी जलाएर हत्या गरिनु केवल व्यक्तिगत क्षति मात्र होइन, यो सम्पूर्ण पत्रकारिता जगतका लागि गम्भीर आघात हो,” चौधरीले भन्नुभयो । प्रदेश अध्यक्ष चौधरीले लुम्बिनीलाई शान्ति भूमि मात्र नभई न्यायको आवाज उठाउने स्थलका रूपमा परिभाषित गर्दै समाजमा व्याप्त अन्याय, दमन र हिंसाका विरुद्ध सशक्त रूपमा उभिनुपर्ने धारणा राख्नुभयो ।
मधेशी पत्रकार समाज नेपाल, रूपन्देही शाखा अध्यक्ष राधेश्याम विश्वकर्माले पत्रकार सुरेश रजकको बलिदानलाई व्यर्थ जान नदिनुपर्ने बताउँदै पत्रकारहरूको सुरक्षाका लागि एकजुट हुन आह्वान गर्नुभयो । “पत्रकारितालाई भयमुक्त बनाउन, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र अपराधीलाई कठोर कारबाही गराउन हामी निरन्तर आवाज उठाउनेछौँ,” उहाँले भन्नुभयो ।
त्यस्तै, पत्रकार रजकको परिवारलाइ उचित क्षतपिूर्ति दिनुपर्ने भन्दै मर्चवार प्रेस क्लबका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ रुपन्देही कार्य समिती सदस्य हृदयराम गुप्ताले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको रक्षागर्न राज्यले कडा कदम चाल्नुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा सहभागी पत्रकार, भिक्षु, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले मृतक आत्माको चिरशान्तिको लागी प्रार्थना गर्दै पत्रकार सुरेश रजकको हत्यामा संलग्न दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।